प्रदेशकाे नाम लुम्बिनी, राजधानी देउखुरी

प्रदेश सरकार गठन भएकाे अढाइ बर्षपछि प्रदेश नंं. ५ ले नाम र राजधानी टुंगाे लगाएकाे छ ।

प्रदेशसभाकाे मंगलबार सम्पन्न बैठकमा प्रदेश ५ को स्थायी राजधानी देउखुरी र नाम लुम्बिनी हुने प्रस्ताव मतदान प्रक्रियाबाट दुईतिहाइ मतले टुंगाे लागेकाे हाे ।

राजधानी दाङकाे देउखुरी हुने प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ तथा लुम्बिनी प्रदेश नामकरणका पक्षमा ७९ र विपक्षमा चार मत परेकाे थियाे ।

यसअघि प्रदेश राजधानीका बिषयमा सत्तारूढ दल नेकपा र प्रतिपक्षी दल कांग्रेसका सांसदहरू नै पक्ष र विपक्षमा विभाजित थिए ।

मतदान प्रक्रियामा काँग्रेसका ५ सांसदले दलीय ह्वीप ताेडेर प्रदेश राजधानी देउखुरी बनाउने प्रस्तावमा मतदान गरेका थिए । सरकारले दुईतिहाइ मतको दम्भले गलत निर्णय गरेको विपक्षी कांग्रेसले आरोप लगाएको छ । 

मतदानलगत्तै प्रदेश सभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयाे ।

राजधानीका पक्षमा तीन र नामकरणका पक्षमा दुई सदस्य तटस्थ बसे ।

प्रदेश ५ सरकारले रुपन्देहीको बुटवल–भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय पनि गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्र उजागर गर्ने भन्दै यी तीन जिल्ला सांस्कृतिक र पर्यटकीय राजधानीका रूपमा समेटिन लागेका हुन् ।

यसैवीच प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले समिति र विज्ञको सुझाबमा पहिलो नम्बरमा दाङ उपयुक्त स्थान भएको सुझाब दिएको र त्यसैअनुसार उपयुक्त स्थानमा स्थायी राजधानीको प्रस्ताव गरेको उल्लेख गर्नुभएकाे छ । समितिले दोस्रोमा रुपन्देही र तेस्रोमा कपिलवस्तु राजधानीका लागि उपयुक्त हुने सुझाव दिएकाे थियाे ।

मुख्यमन्त्री पोखरेलले कहाँ राजधानी बनाउने होइन कस्तो राजधानी बनाउने भन्ने कुराका ध्यान दिने बताउनुभयाे । राजधानीलाइ नमुना व्यवस्थित सहर बनाउने योजना रहेकाे उहाँकाे भनाइ छ ।

Facebook Comments