प्रधानमन्त्रीकाे ‘रअ’ प्रमुखसँगकाे भेटबारे स्पष्ट पार्न काँग्रेस र विप्लव नेतृत्वकाे नेकपाकाे माग

भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ) प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीकाे भेटबारे स्पष्ट पार्न नेपाली काँग्रेस र विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले माग गरेका छन् ।

तर पेधानमन्त्री ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने ‘रअ’ का प्रमुख गाेयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशबाहकका रूपमा नेपाल भ्रमण गरेको दाबी गरेका छन् ।

सीमा विवाद रहेकाले भारतसँग उच्च तहमा वार्ता हुनुपर्ने अवस्थामा अचानक प्रधानमन्त्री ओलीले गुप्तचर प्रमुखसँग गरेको भेटका बिषयमा राजनीतिक र कुटनीतिक वृत्तमा प्रधानमन्त्रीकाे आलोचना भइरहेकाे छ ।

ओलीनिकट मानिने नेता पोखरेलले भने भेटकाे विराेध हुन नहुने भन्दै प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्नुपर्ने उल्लेख गर्नुभएकाे छ ।

विपक्षी दलमात्र नभइ सत्तारुढ दल नेकपाका नेताले पनि परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत प्रधाममन्त्री ओलीले ‘रअ’ प्रमुखसँग भेटेकोमा आपत्ति जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि भेटका विषयवस्तु सार्वजनिक गर्न माग गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गठन गरेको जनपरिषद्, नेपालले प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था (रअ) प्रमुख गोयलबीच भएको छलफलको विषयवस्तु सार्वजनिक गर्न माग गरेको छ । 

भेटबारे परराष्ट्र मन्त्रालयमा समेत कुनै जानकारी नभएकाे पाइएकाे छ । भारतले ‘रअ’ मार्फत् छिमेकी मुलुकमा विभिन्न चलखेल गर्ने गरेकाे छ ।

Facebook Comments