आज बडा दशैंकाे महत्वपूर्ण दिन विजायदशमी, टिकाकाे साइत १०ः१९ बजे

आज बडा दशैंकाे महत्वपूर्ण दिन विजायदशमी मान्यजनसँग हिन्दु धर्म मान्नेहरूले टिका जमरा ग्रहण गरी मनाउँदैछन् ।

घटस्थापनाकाे दिनदेखि स्थापना गरीकाे घडा एवं नवदुर्गाकाे पुजा आरधना विसर्जन गरी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाउने प्रचलन छ । 

आश्विन शुक्ल परेवाका दिनदेखि काेजाग्रत पुर्णिमासम्म १५ दिन मनाइने बडादशैंकाे अन्तर्गत आश्विन शुक्ल दशमीकाे दिन सबैभन्दा महत्वपूर्ण मानिन्छ । यस दिनमा हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको छ भने
टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः१९ बजे उत्तम रहेको छ ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु पर्दैन ।

आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाउने मानिस पश्चिम र टीका लगाइदिने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने धार्मिक विश्वास रहेकाे छ ।

जदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशँैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । 
  
सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।  गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । 
  
विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ
 आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे । 
 ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
 शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
 विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
 
यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गादेवीको स्वरुप मानेर  आशीर्वाद दिइन्छः

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी  ।
 दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन समितिले आह्वान गरेको छ ।
 
यस बर्ष काेराेना महामारीका कारण चाडपर्वमा समेत विगत वर्षहरूमा जस्ताे राैनकता भने छैन । सरकारले पनि सकेसम्म जमघट कम गर्न सुझाएकाे छ भने कतिपय अहिले पनि काेराेना भाइरसकाे संक्रमणमा परेकाले घरपरिवारबाट अलग बस्नुपर्ने बाध्यतामा रहेका छन् ।

Facebook Comments