हत्यामा संलग्नमाथि कारबाही गर्न अध्यक्ष प्रचण्डकाे माग

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सा जिल्लामा भएको पार्टी कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गर्नुभएकाे छ ।

पर्साको बन्दबासिनी गाउँपालिकामा कात्तिक ६ गते नेकपाको गाउँ कमिटी शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा घाइते चौरसियाको उपचारका क्रममा मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्नमाथि छानबिन र कारबाही प्रक्रिया अगाडि नबढेको र प्रहरी प्रशासनले किटानी जाहेरी लिन नमानेको भन्दै नेकपाका उक्त क्षेत्रका नेताहरूले विज्ञप्ति निकाल्नुका साथै प्रदर्शन समेत गरेका थिए ।

प्रचण्डलेआइतबार विज्ञप्ति जारी गर्दै घटना गम्भीर भएको र त्यसमा प्रहरीले उजुरीसमेत नलिएकोप्रति आपत्ति प्रकट गर्नुभएकाे छ ।

‘हत्या जस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दछु,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनामा जोसुकै संलग्न भएपनि कानुनी कारबाही गर्नका लागि अध्यक्ष प्रचण्डकाे माग रहेकाे छ ।

Facebook Comments